Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । पूणे प्रहरीले आइतबार फिल्म निर्माता रोहित सेट्टीको मुम्बईस्थित घरमा भएको गोली प्रहारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “आक्रमणकारीहरूले मुम्बईको जुहू क्षेत्रमा रहेको नौतले भवनको पहिलो तलामा मध्याह्न १२:४५ बजे गोलीबारी गरेका थिए।”
घटनाका क्रममा पाँच राउन्ड गोली चलाइएको बीबीसीहिन्दीले समाचारमा उल्लेख गरेको छ। एउटा गोली भवनको बिमको सिसामा लागेको थियो। भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघ (आईएफटीडीए) ले रोहितको घरमा भएको गोली प्रहार घटनाको निन्दा गरेको छ।
आईएफटीडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस घटनाबाट सम्पूर्ण फिल्म उद्योग स्तब्ध र चिन्तित छ। यसले भारतीय मनोरञ्जन उद्योगका सबैभन्दा सम्मानित र प्रसिद्ध फिल्म निर्माताहरूमध्ये एकको सुरक्षामाथि गम्भीर प्रश्न उठाउँछ। यस्ता घटनाहरूले डर र असुरक्षाको वातावरण सिर्जना गर्दछ। जुन कुनै पनि परिस्थितिमा अस्वीकार्य छ।”
आईएफटीडीएले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसलाई व्यक्तिगत रूपमा यो विषयमा सम्बोधन गर्न अपिल गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ कि मुम्बई प्रहरीले छिटो र कडा कारबाही गर्नेछ। दोषीलाई पहिचान गर्नेछ र सकेसम्म चाँडो न्यायको कठघरामा ल्याउनेछ। रोहित सेट्टी र उनको परिवारको पूर्ण सुरक्षा सुनिश्चित गर्नेछ।”
यस कठिन समयमा आईएफटीडीए रोहित सेट्टी र उनको परिवारको साथ दृढतापूर्वक उभिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। घटनाबारे अनुसन्धान जारी छ। प्रहरीले पक्राउ परेकाहरूलाई सोधपुछ गरिरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij