Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटनास्थलमा फेला परेको भागरथीको मोबाइल र फेसबुक एकाउन्टबाट पनि सुराक पत्ता लगाउन सकिएको छैन।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएको बताए। ‘पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ,’ उनले भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषय अहिले नै यकिन हुन सकेको छैन।’ थप अनुसन्धानका लागि भेजाइनल स्वाब आइतबार प्रहरी केन्द्रीय प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ। पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि बीभत्स तरिकाले हत्या गरिएको, टाउको, खुट्टा, हातमा चोट लागेको, मुख र गुप्तांगबाट रगत बगेको उल्लेख छ।
घटना अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदी, प्रदेश प्रहरीका एसएसपी जनक पाण्डे नेतृत्वको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट डिएसपी नेतृत्वको टोली खटिएको छ। धनगढीबाट तालिम प्राप्त कुकुर पनि अनुसन्धानका लागि बैतडी ल्याइएको छ।
आइतबार बैतडी आएका डिआइजी सुवेदी अनुसन्धान नसकिएसम्म यतै बस्ने योजनामा रहेको प्रहरी स्रोतले बताएको छ। अहिलेसम्म सोधपुछ क्रम जारी रहेकाले नियन्त्रणमा कसैलाई नलिइएको बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले बताए। धेरैजना शंकाको घेरामा भएकाले निष्कर्षमा पुग्न ढिलाइ भइरहेको उनले जनाए । नागरिक दैनिकमा बिरा गडालले खबर लेखेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij