Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी विशेष कार्यक्रममा सहभागी भएकी छन्।
काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा आकर्षक मार्च पास्ट प्रस्तुत गरिएको थियो। त्यसैगरी नेपाली सेनाका हातहतियार तथा आधुनिक उपकरणहरूको प्रदर्शनी, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरू समेत प्रदर्शन गरिएका थिए।
कार्यक्रममा मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको थियो, जसले समारोहलाई थप आकर्षक बनाएको थियो। नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानका क्रममा विसं १८१९ मा नेपाली सेनाको गठन गरेको ऐतिहासिक अभिलेख छ।
सो समयमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी स्थापना गरिएका थिए। नेपाल राज्यका पुराना संस्थामध्ये नेपाली सेना एक प्रमुख संस्था मानिन्छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij