Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
दिवसको सन्दर्भमा जारी सन्देशमा उनले वि.सं. २००७ सालको क्रान्तिले नेपाली जनतालाई रैती अवस्थाबाट नागरिक अधिकारसहितको पहिचान दिलाएको उल्लेख गरेकी छन् । साथै २०१५ साल फागुन ७ गतेबाट पहिलो संसदीय निर्वाचन सुरु भएको ऐतिहासिक तथ्य स्मरण गर्दै लोकतान्त्रिक यात्राको आधार त्यही आन्दोलनले तयार गरेको बताएकी छन्।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई व्यवहारमै जीवनशैली बनाउन नेतृत्व तहबाट कमजोरी भएको स्वीकार गर्दै विगतमा पटक-पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् । अब त्यस अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संस्थागत सुधारमार्फत भ्रष्टाचार, नातावाद र विभेदविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
उनले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व सुदृढ गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई एकजुट हुन आह्वान गरेकी छन् ।
सन्देशको अन्त्यमा प्रधानमन्त्री कार्कीले प्रजातन्त्र, सुशासन र नागरिक अधिकारका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij