Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ ।
निगमले मङ्गलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११:१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो ।
दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौँ) वाइडबडी बिहीबार बिहान ४:१० बजे काठमाडौं फर्किने तालिकामा उल्लेख गरिएको छ ।
अमेरिका–इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका लागि १२औं दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताए ।
उनका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्तयाका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उनले आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिए । खासगरी दुबईमा उद्धारको पर्खाइमा बस्नुभएका यात्रुलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गरे ।
उनका अनुसार आरए २२९ (काठमाडौं–दुबई) आज राति ११:१५ बजे र आरए २३० (दुबई–काठमाडौं) बिहीबार बिहान ४:१० बजे स्वदेशका लागि उडान भर्ने तालिका छ ।
गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् । निगमबाट टिकट पुन: प्रमाणित गराई यात्रा गर्न सूचनामार्फत निगमले सबैमा अनुरोध गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij