Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्।
जनताको म्यान्डेटविपरीत वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पनासमेत गर्न नसकिने उनले बताएका हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले सरकारमा जाने विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न नसक्ने प्रावधानलाई उनले स्मरण गराए।
‘जनताबाट प्राप्त जनादेशविपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन,’ घिसिङले भनेका छन्। उनले सरकारमा सहभागिता जनाउने विषयमा अहिलेसम्म कोहीसँग पनि कुनै छलफल नभएको दाबी गरे।
आफ्नो पार्टी चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्ने बाटोमा रहेको उनको भनाइ छ। अहिले उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा मात्रै आफूहरू केन्द्रित रहेको उनले प्रस्ट्याएका छन्।
सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति आफ्नो प्रतिबद्धता अटल रहेको भन्दै अध्यक्ष घिसिङले आफ्ना विरुद्ध फैलाइएका गलत प्रचार र भ्रममा नपर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij