Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन्।
रास्वपाको केन्द्रीय समिति बैठक आज पार्टी कार्यालय घन्टीघरमा बस्दैछ । आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको विधान संसोधन गरेर बालेनलाई संसदीय दलको नेता नियुक्त गर्ने तयारी रहेको छ ।
पार्टीको विधानअनुसार चुनाव अघि नै साधारण सदस्यबाट मतदान गराएर संसदीय दलको नेता चयन हुनुपर्ने थियो । विधानको उक्त व्यवस्था कार्यान्वयन हुन नसकेकाले संसोधन गर्न लागेको हो । रास्वपाले पहिल्यै बालेनलाई संसदीय दलको नेता बनाउने सम्झौता गरिसकेको छ ।
पार्टीको वरिष्ठ नेता चयन भए पनि बालेन अहिलेसम्म रास्वपाको बैठकमा सहभागी भएका छैनन् । उनी रास्वपामा आएपछि एकपटक मात्रै केन्द्रीय समिति बैठक बसेको थियो । सचिवालय बैठकहरुमा भने उनी गएनन् । बालेनले पार्टीको बैठक छलेको भन्दै आलोचना समेत हुने गरेको थियो । आज भने उनी सहभागी हुने एक निकटस्थ नेताले जानकारी दिए।
आज सांसदहरुको सपथग्रहणपछि पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ। केन्द्रीय कमिटी बैठकले मन्त्रीहरुको नाम पनि टुंगो लगाउने नेताहरुले बताएका छन् । उक्त बैठकले बालेनलाई संसदीय दलको नेता बनाएपश्चात आजै संसदीय दलको बैठक पनि बस्ने तयारी रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij