Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ। २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको बताए। सन् १९७९ को इस्लामिक क्रान्तिपछि उच्चस्तरीय रूपमा भएको यस्तो संवादलाई महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन। उनका अनुसार अमेरिकाले इरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ र त्यसबारे निर्णय लिन केही समय प्रदान गरिएको छ।
यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउनुका साथै विश्व अर्थतन्त्रमा समेत असर पारेको छ। आक्रमणपछि इरानले प्रतिशोधात्मक कदम चालेपछि तनाव झनै चुलिएको हो।
वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए। अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउन युद्धपोत पठाएको दाबी गर्दै दबाब सिर्जना गरिरहेको आरोप इरानी पक्षले लगाएको छ। उक्त जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ।
योसँगै करिब डेढ महिनादेखि जारी अमेरिका–इजरायल र इरान युद्ध अनिश्चित बन्ने देखिएको छ। यसले क्षेत्रीय सुरक्षा, आणविक कार्यक्रम र रणनीतिक तेल मार्गजस्ता संवेदनशील विषयहरूमा समस्या थप गहिरिने अनुमान गरिएको छ।
अमेरिकाले गत २८ अप्रिलमा इजरायलमार्फत इरानमाथि आक्रमण गरेको थियो। त्यसयता खाडी क्षेत्र अशान्त छ भने विश्वबजारमा ऊर्जा आपूर्तिमा गम्भीर समस्या देखिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij