Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याट्सम्यान टिम डेभिडले सिजनको तेस्रो सजाय पाएका कारण इन्डियन प्रिमियर लिग २०२७ को उद्घाटन खेल गुमाउने भएका छन् ।
आइतबार अहमदाबादमा भएको आईपीएल २०२६ को फाइनल खेलका क्रममा गुजरात टाइटन्सको इनिङ्सको १०औँ ओभरमा विकेट पतन भएपछि टिम डेभिडले आइस ब्याग अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा फ्याँकेपछि कारवाहीमा परेका हुन् ।
उनले खेलको आचारसंहिता धारा २.९ उल्लङ्घन गरेको कारण देखाउदै उनलाई उक्त धारा अनुसार खेलका क्रममा कुनै पनि खेलाडीले बल वा पानीको बोतल, वा अन्य सामग्रीलाई अम्पायर, खेलाडी, म्याच रेफ्री वा अन्य व्यक्तितर्फ असुरक्षित वा अनुचित तरिकाले फ्याँक्न नपाइने नियम अनुसार कारवाही गरिएको बताइएको छ ।
टिम डेभिडले गल्ती स्वीकार गर्दै म्याच रेफ्री जवागल श्रीनाथले तोकेको सजाय स्वीकार गरेका छन् । यस सिजनको उनको पाँचौँ डिमेरिट प्वाइन्ट भएपछि उनलाई एक खेलको प्रतिबन्ध लगाइएको छ । जस अनुसार उनले अर्को सिजनको आइपिएलको पहिलो खेल गुमाउने भएका छन् ।
फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यो उनीहरूको लगातार दोस्रो उपाधि हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij