Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ ।
उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन् । यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो ।
दैनिक तीनदेखि सात जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए । ‘अन्य समयमा पनि सर्पले डसेका बिरामी आउँछन्’, अध्यक्ष पौडेलले भने, ‘तर, फागुनबाट भदौ, असोजसम्म धेरै सर्पको डसाइका बिरामी उपचारका लागि आउँछन् ।’
मुसाको दुलो झाडीलगायतका ठाउँमा बस्न रुचाउने विषालु सर्प गर्मी बढेसँगै बाहिर निस्कने गर्दछन् भने रातको समयमा आहाराको खोजीमा निस्किएको सर्प मानिसको सामुन्ने हुँदा आक्रमण गर्ने विज्ञहरूको भनाइ छ । सर्पले मानिस खोज्दै नहिँड्ने तर, मानवीय गतिविधिका कारण सुरक्षा चुनौती महसुस गरी आफ्नो बचाउका लागि डस्ने केन्द्रका अध्यक्ष पौडेलले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij