Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

  • काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ । सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयका अनुसार प्रविधिमार्फत निगरानी बढाएपछि कारबाहीमा पर्ने सवारी चालकको सङ्ख्या उल्लेख्य बढेको छ । कार्यालयले एक वर्षमा कुल ३८ हजार ७७८ जना चालकलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    AGNI GROUP

    “चालकले सिटबेल्ट लगाएको छ वा छैन, सवारी चलाउँदै मोबाइल फोन प्रयोग गरेको छ वा छैन, धूमपान गरेको छ वा छैन भन्ने विवरणसमेत क्यामेराले रेकर्ड राख्छ”, उनले भने, “चालकले ट्राफिक नियम उल्लङ्घन गरेको पुष्टि भएपछि सम्बन्धित चालकलाई कानुनअनुसार कारबाही गरेका छौँ ।”

    ट्राफिक प्रहरीका अनुसार सडकमा नियम उल्लङ्घन गरेर भाग्ने सवारी चालकलाई उक्त क्यामेरामार्फत पहिचान गरी जरिवाना तथा कानुनी कारबाही गरिँदै आइएको छ । साथै एएनपिआर क्यामेराले सवारीसाधनको नम्बर प्लेट मात्र होइन, चालकको गतिविधिसमेत निगरानी गर्ने गरेको छ । कार्यालयको तथ्याङ्कअनुसार २०८२ वैशाखदेखि २०८३ असार २० गतेसम्म एएनपिआर क्यामेराको सहायताले १५ हजार ९५४ जना चालकलाई कारबाही गरिएको छ ।

    त्यस्तै, सोही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट २२ हजार ८२४ जना चालकलाई जरिवानासहित कारबाही गरिएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको बताए । उनका अनुसार कुनै सवारी दुर्घटना गराएर फरार भए पनि क्यामेराले सम्बन्धित मार्गबाट गुज्रिएका सवारीको नम्बर प्लेट र विवरण सुरक्षित राख्ने भएकाले अनुसन्धान र कारबाही गर्न सहज भएको छ ।

    उनले भने, “दुर्घटना गराउने सवारी चालक भागे पनि उक्त सवारीको रङ, नम्बर प्लेट वा अन्य विवरणका आधारमा सम्बन्धित सवारी धनीसम्म पुगेर आवश्यक कानुनी कारबाही गर्ने गरेका छौँ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij