Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । गुण्डागर्दीबाट राजनीतिमा छिरेका अभिषेक गिरी जिल्ला अदालत मोरङबाट हाजिरी जमानीमा छुट्ने आदेश पाउनेबित्तिकै पुन:पक्राउ परेका छन् । उनलाई सोमबार जिल्ला अदालत मोरङले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
गिरीलाई सीआइबीले ठगी र आपराधिक विश्वासघातको मुद्दामा पक्राउ गरी काठमाडौं लगेको छ।
यसअघि मोरङ प्रहरीले गिरीलाई असार १३ गते नियन्त्रणमा लिएर आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो।
अनुसन्धानका लागि म्याद थप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइए पनि न्यायाधीश टङ्कबहादुर महतको इजलासले म्याद थप अस्वीकार गर्दै हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो ।
मोरङमा अनुसन्धानको चरण टुंगिनै लाग्दा सीआईबीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी छुट्टै मुद्दामा पक्राउ अनुमति लिएर गिरीलाई काठमाडौं लगेको प्रहरीले जनाएको छ । अब उनको आर्थिक कारोबार, सम्पत्ति आर्जन र व्यापारीसँगको लेनदेनमाथि गहिरो अनुसन्धान सुरु हुने सीआईबीले जनाएको छ ।
गिरीमाथि करोडौँ रुपैयाँ बराबरको आर्थिक कारोबारमा ठगी र विश्वासघात गरेको आरोप छ । प्रारम्भिक अनुसन्धानमा उनले ४ करोड २४ लाख रूपैयाँमा घरजग्गा खरिद गरी श्रीमतीको नाममा नामसारी गरेको, एक ठेकेदारबाट ४ करोड रूपैयाँको चेक लिएर उनको गाडी तथा डोजर आफ्नो नियन्त्रणमा राखेको उजुरी छ । सोमबार साँझ विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत गिरीलाई काठमाडौं लगिएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले ठगी र आपराधिक विश्वासघातसम्बन्धी अनुसन्धानका लागि सीआईबीले गिरीलाई काठमाडौं लगेको बताए । सीआईबीले अनुसन्धान गरिरहेको मुख्य विषय गिरीको आर्थिक कारोबार हो । अनुसन्धानमा चार करोडभन्दा बढी मूल्यको घरजग्गा खरिद, ठूलो रकमको चेक कारोबार तथा व्यवसायीको सवारीसाधन कब्जामा लिएको आरोपमाथि अनुसन्धान भइहरेको छ ।
उनी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा कारागार चलान भएका थिए । ९ वर्ष कैद भुक्तान गरेर २०७९ चैत ५ गते जेलमुक्त भएका गिरी कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनीमाथि मोरङ कारागारमा चौकीदारको भूमिकामा रहेका बेला कैदीबन्दीमाथि कुटपिट, रकम असुली र कारागारभित्रै समूह सञ्चालन गरेको आरोप लागेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij