Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका खोला तथा नदीमा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा उच्च जोखिम रहेको भन्दै रेड अलर्ट जारी गरिएको छ ।
महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसहित आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम सबैभन्दा बढी रहेको छ। ती जिल्लाबाट बग्ने साना नदी तथा खोलामा अचानक बहाव बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दा तथा यात्रुले विशेष सावधानी अपनाउनुपर्ने जनाइएको छ ।
यसैगरी पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलालीलगायत जिल्लाका साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा मध्यम स्तरको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
मौसमीय प्रणाली सक्रिय रहेकाले केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यसैले नदी किनार, होचा भूभाग तथा बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायको सूचना नियमित रूपमा पालना गर्न महाशाखाले आग्रह गरेको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij