Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । विभिन्न मिडिया हाउसमा सोमबार बिहानदेखि शंकास्पद राखिएका गाडीबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । त्यसक्रममा हालसम्म मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अवरोध गर्दै पार्किङ गरिएको गाडीको विवरण खुलेको छ ।
प्रहरी स्रोतका अनुसार त्यहाँ पार्किङ गरिएको बा. १२ च १२५५ नम्बरको गाडी अग्नि इनकर्पोरेट डी प्रालिका नाममा रहेको यातायात व्यवस्था विभागको अभिलेखमा भेटिएको छ ।
अग्नि इनकर्पोरेट डी प्रालि सवारी साधनको अधिकृत विक्रेता कम्पनी हो । उक्त कम्पनीले कोही व्यक्तिलाई बिक्री गरेको र त्यसको किस्ता भुक्तानी पूरा नहुँदासम्म उक्त कम्पनीकै नाममा देखिएको अनुसन्धानरत प्रहरीले जनाएका छन् ।
यातायात व्यवस्था कार्यालयको ढड्डामा गाडी धनीको सम्पर्क नम्बर छैन । उक्त गाडीका ऋणी, अर्थात् अग्नि इनकर्पोरेट डी प्रालिसँग गाडी खरिद गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अन्य गाडी धनीको पहिचानका लागि बागमती प्रदेश सरकारअन्तर्गत रहेका यातायात कार्यालयबाट विवरण लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ । तर, सोमबार बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयको सर्भर डाउन भएका कारण हालसम्म यकिन विवरण प्राप्त भएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij