Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
२३ वर्षीया एन्ड्रिया शाले आफ्ना जुम्ल्याहा शिशुको मृत्यु नियमित बालखोपका कारण भएको दाबी गर्दै आएकी थिइन् । उनले फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका खोप लगाएको आठ दिनपछि शिशुको मृत्यु भएको सार्वजनिक रूपमा बताएकी थिइन् । उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन् । उक्त संस्थाको स्थापना हालका अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गरेका थिए ।
तर अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो अनुसन्धानपछि शिशुको मृत्यु प्राकृतिक नभई श्वास अवरुद्ध गरी हत्या गरिएको निष्कर्ष निकालेको जनाएको छ । सोही आधारमा शालाई पक्राउ गरी हत्या अभियोग दर्ता गरिएको हो ।
मंगलबार भएको अदालतको सुनुवाइमा शाकी कानुन व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई मायालु र जिम्मेवार आमा भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको आरोप वास्तविकताभन्दा फरक रहेको बताएका थिए ।
मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलर बराबरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन् । पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी हुन् । तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै धरौटी अस्वीकार गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij