Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । भारतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को व्यापक सुधार अब थप टार्न नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थअनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ । भारतले सुरक्षा परिषद्सँगै महासभाको भूमिका सुदृढ गर्न र आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) लाई थप प्रभावकारी बनाउँदै बहुपक्षीय प्रणालीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनुपर्नेमा जोड दिएको छ ।
उनले बहुपक्षवादलाई प्रभावकारी बनाउन सुरक्षा परिषद्को व्यापक सुधार, महासभाको पुनर्जीवन तथा आर्थिक, सामाजिक र वातावरणीय तीनै आयाममा दिगो विकास प्रवद्र्धन गर्न इकोसोकको भूमिका थप सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे ।
राजदूत पर्वथानेनीले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति सुरक्षा परिषद्ले प्रभावकारी प्रतिक्रिया दिन नसकेकाले संयुक्त राष्ट्रसङ्घप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताउनुभयो । प्रभावित जनताको पीडा अन्त्य गर्न परिषद् प्रभावकारी हुन नसकेको भन्दै उनले संयुक्त राष्ट्रसङ्घको मूल उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने क्षमतामाथि नै प्रश्न उठ्न थालेको धारणा व्यक्त गरे ।
उनका अनुसार सुरक्षा परिषद्को कमजोरीको मुख्य कारण यसको पुरानो संरचना हो । सन् १९४० को दशकको विश्व व्यवस्थालाई आधार बनाएर निर्माण गरिएको संरचनाले आजका जटिल चुनौतीको सामना गर्न नसक्ने भन्दै उनले सुधारसम्बन्धी अन्तरसरकारी वार्ता (आइजीएन) वर्षौंदेखि निष्कर्षविहीन छलफलमै सीमित रहेको उल्लेख गरे । कार्यसूचीका महत्त्वपूर्ण विषय अझै कागजमै सीमित रहेको भन्दै उनले यो अवस्था परिवर्तन हुनुपर्नेमा जोड दिए ।
‘भविष्यका लागि सम्झौता’ बारे बोल्दै उनले त्यसमा समावेश केही प्रावधानप्रति भारतको गम्भीर असहमति भए पनि रचनात्मक सोचका साथ उक्त सम्झौतामा समर्थन जनाएको बताए ।
राजदूत पर्वथानेनीले दिगो विकास लक्ष्य हासिल गर्न पर्याप्त, किफायती र पूर्वानुमानयोग्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय वित्तीय संरचनामा पनि सुधारको आवश्यकता औँल्याए । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई अझ प्रतिनिधिमूलक, उत्तरदायी र विकासमुखी बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले संयुक्त राष्ट्र सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थासहित विश्वव्यापी शासन प्रणालीमा आवश्यक सुधारका लागि हुने सबै सार्थक प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान र भावी चुनौती सामना गर्न सक्षम, प्रभावकारी र समावेशी अन्तर्राष्ट्रिय संस्थाको निर्माणमा विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij