Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ । संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उनले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्ने तयारी गरेका छन् । सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।
छपन्न वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्नेछन् । बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन् ।
ग्रेटर म्यानचेस्टरका लगातार तीन कार्यकालका मेयर बर्नह्यामलाई ‘उत्तरका राजा’ भन्ने उपनामले पनि चिनिन्छ । लेबर नेतृत्वका लागि उनीविरुद्ध कसैले चुनौती नदिएपछि निर्विरोध रूपमा नेता चयन भएका थिए । यसअघि सन् २०१० र २०१५ मा क्रमशः एड मिलिब्यान्ड र जेरेमी कोर्बिनसँग पराजित भएपछि उनीतेस्रो प्रयासमा पार्टी नेतृत्वमा पुग्न सफल भएका हुन् ।
सन् २००१ देखि २०१७ सम्म सांसद तथा पूर्वसरकारी मन्त्री रहेका बर्नह्यामले पछिल्ला वर्षहरूमा आफूलाई जनमुखी नेताका रूपमा स्थापित गरेका छन् । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सहज प्रस्तुति र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण उनले व्यापक लोकप्रियता हासिल गरेको मानिन्छ ।
लेबर सांसदहरूले बर्नह्यामले स्टारमरभन्दा प्रभावकारी रूपमा जनतासँग संवाद गर्न सक्ने, जर्जर सार्वजनिक सेवामा सुधार ल्याउन सक्ने तथा सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न थप साहसी नीति अघि बढाउने अपेक्षा गरेका छन् । बुधबार पूर्वफुटबलर ग्यारी लिनेकरसँगको पोडकास्टमा उनले देशलाई आशा र आत्मविश्वासको नयाँ अनुभूति दिलाउनुपर्ने आवश्यकता औँल्याउँदै बेलायत सही दिशातर्फ फर्किरहेको अनुभूति जनतामा दिलाउनुपर्ने बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij