Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र चितवनले यात्रामा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । सडकमार्गबाट आवतजावत गर्दा सावधानी अपनाउन आग्रह गरिएको हो ।
“जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार आज (साउन २) राति ठूलो पानी पर्ने सम्भावना छ । नारायणगढ–मुग्लिन–काठमाडौंसम्मको सडकखण्डका विभिन्न स्थानहरूमा पटक–पटक पहिरो जाने गरेको विषय सबैमा जानकारी नै छ । सम्भावित भारी वर्षाको अवस्थालाई ध्यानमा राखी सबै महानुभावहरूलाई निम्न व्यहोरा अनुरोध गर्दछौँ,” चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।
चितवन प्रशासनले अत्यावश्यक नपरी यात्रामा ननिस्कनु आग्रह गरेको छ । “जसरी पनि गन्तव्यमा पुगेरै छोड्ने वा अगाडिसम्म पुगेर मात्र रोकिन्छु भन्ने निर्णय घातक हुन पनि सक्छ, जहाँ हुनुहुन्छ त्यही आसपास रोकिएर सुरक्षित स्थानमा बास बस्नुहोला,” सूचनामा भनिएको छ ।
मौसमको अवस्था हेरेर कुनै पनि बेला सडक आवागमनमा रोक लगाइन सक्ने जनाइएको छ । “तपाईंको यात्रा झोला (ट्राभल ब्याग)मा एक/दुई सेट अतिरिक्त लुगा, केही ड्राइफुड, खानेपानी, मोबाइल चार्जर (मोबाइल पनि चार्ज गरेर बोक्ने) र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधिहरू समेत जोहो गरेर राख्नुहोला,” चितवन प्रशासनले भनेको छ ।
यात्रामा केही समस्या वा सूचना आवश्यक परेमा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
“नदी किनारका बस्ती तथा बाढीपहिरोको दृष्टिकोणबाट जोखिमपूर्ण स्थानमा बसोबास गर्नुहुने महानुभावहरू तत्काल सुरक्षित स्थानमा सर्नुहोला,” सूचनामा उल्लेख छ ।
काठमाडौं प्रशासनले पनि सडकमार्गबाट यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । “...विगत वर्षहरूमा बाढी, पहिरोका कारण रातको समयमा भएको गम्भीर क्षति समेतलाई मनन गर्दै सम्भावित भारी वर्षा हुने दिनहरूमा रातिको समयमा यात्रा गर्दा अझ बढी उच्च सावधानी र सतर्कता अपनाउनुहुन, सडकमार्गको कहीँ कतै कुनै खण्डमा अवरोध भए/नभएको यकिन सूचना प्रहरी प्रशासनबाट लिनुहुन, राजमार्गको कुनै सडकखण्डमा बाढी, पहिरोबाट सडक अवरुद्ध भएको अवस्थामा यात्रुलाई खाना, पानीको व्यवस्था हुन सक्ने र बाढी, पहिरोबाट पूर्ण रूपमा सुरक्षित स्थानमा मात्र रोक्ने व्यवस्था गर्नुहुन र सडकको अवरोध खुलिसकेको भनी प्रहरी प्रशासनबाट यकिन सूचना लिएपछि मात्र यात्रा अघि बढाउनुहुन सूचित गरिएको छ,” काठमाडौं प्रशासनले भनेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij