Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार आक्रमणमा परी घाइते भएका चारजना सैनिकलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। युद्ध सुरु भएयता अमेरिकी सैनिकतर्फको यो ठूलो क्षति हो । यससँगै द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ।
आक्रमणको जवाफमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले लगातार आठौं दिन पनि इरानविरुद्ध हवाई आक्रमण तीव्र पारेको छ। अमेरिकाले यस आक्रमणलाई इरानद्वारा होर्मुज जलमार्गमा हुने व्यावसायिक ढुवानीमाथिको अवरोधलाई कम गर्ने र आफ्ना सैनिकमाथिको प्रहारको बदला लिने उद्देश्यका साथ गरिएको जनाएको छ। आक्रमणमा संलग्न इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई निसाना बनाइएको अमेरिकाको दाबी छ।
यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै कडा चेतावनी दिएका छन्। दुई देशबीचको युद्धविराम सम्झौता भङ्ग भएसँगै दुवै पक्षले एक–अर्काको सैन्य पूर्वाधारका साथै महत्त्वपूर्ण नागरिक संरचनालाई पनि निसाना बनाउन थालेका छन्।
पछिल्लो समय इरानले कुवेतका विद्युत र पानी प्रशोधन केन्द्रमा आक्रमण गरेको आरोप लागेको छ, जसलाई खाडी सहयोग परिषद्ले 'युद्ध अपराध'को संज्ञा दिएको छ। अमेरिकाले भने आफ्ना सैन्य नाकाबन्दी र आक्रमणहरू केवल सैन्य लक्ष्यमा केन्द्रित रहेको दाबी गरिरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij