Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत सञ्चालनलाई थप सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नयाँ ‘एअरसाइड सेफ्टी अपरेसन प्रोसिजर’ लागू गरेको छ।
विमानस्थलका महाप्रबन्धकबाट स्वीकृत निर्देशिकाअनुसार यात्रुको सुरक्षा, धावनमार्गको निगरानी, फोहर व्यवस्थापन तथा र्याम्प क्षेत्रमा कार्यरत कर्मचारीको अनुशासनलाई थप कडाइ गरिएको छ।
नयाँ व्यवस्थाअनुसार विमानस्थलको सुरक्षित तथा प्रतिबन्धित क्षेत्रमा बिना अनुमति फोटो खिच्न, भिडियो बनाउन, रेकर्डिङ गर्न वा सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। नियम उल्लंघन गर्नेलाई प्रचलित सुरक्षा ऐनअनुसार कारबाही गरिने जनाइएको छ।
यस्तै, एयरसाइड क्षेत्रमा काम गर्ने चालक, ग्राउन्ड ह्यान्डलिङ कर्मचारी तथा प्राविधिकको ड्युटीअघि वा ड्युटीकै क्रममा अकस्मात् ब्रीथ अल्कोहल परीक्षण गरिनेछ। मादक पदार्थ वा लागूऔषध सेवन गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिको विमानस्थल प्रवेश पास तत्काल रद्द गरी कडा कारबाही गरिने व्यवस्था गरिएको छ।
निर्देशिकाले यात्रु ओसारपसारका क्रममा पनि विशेष सावधानी अपनाउनुपर्ने उल्लेख गरेको छ। ह्विलचेयर प्रयोगकर्ता तथा अपाङ्गता भएका यात्रुका लागि एम्बुलिफ्टको अनिवार्य प्रयोग गर्नुपर्ने र विमानको इन्जिन पूर्ण रूपमा बन्द भएपछि मात्र यात्रुवाहक बस विमान नजिक लैजान पाइनेछ।
बागमती र मनोहरा नदी नजिक रहेको विमानस्थल क्षेत्रमा चराचुरुङ्गीको जोखिम न्यूनीकरण गर्न र्याम्प क्षेत्रमा खानेकुरा तथा फोहर फाल्न निषेध गरिएको छ। खुला रूपमा राखिएको खानेकुराले चरा र छाडा जनावर आकर्षित भई उडान सुरक्षामा असर पार्न सक्ने भएकाले फोहर बिर्को लगाइएका भाँडामा संकलन गरी सोही दिन व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij