Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनरका रूपमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनमा रहनेछ । सोमबार सुरु हुने एनपीएलमा गोर्खाजको जर्सीको अगाडिको भागमा फोन पेको लोगो हुनेछ ।
यसका लागि काठमान्डु गोर्खाज र फोन पेबीच सम्झौता भएको छ । सम्झौतामा गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवासकुमारले हस्ताक्षर गरेका थिए । यस सहकार्यमार्फत फोन पेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभाको विकास र देशभरका समुदायसँग संलग्नप्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाएको छ ।
‘हामी एनपीएल सिजन–२ मा काठमान्डु गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं, फोन पेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रयोगलाई प्रवर्द्धन गर्न पहलहरूलाई निरन्तर अघि बढाइरहेको छ । हामी विश्वास गर्छौं कि खेलकुदले मानिसलाई एकत्रित गर्छ र यस्तै भावना बोकेको टोलीसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं,’ फोन पेका प्रमुख कार्यकारी दिवासकुमारले भने ।
काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले फोन पेप्रति आभार व्यक्त गर्दै भने, ‘यो समर्थनले टोलीलाई प्रतिस्पर्धात्मक एनपीएलका लागि थप ऊर्जावान र आत्मविश्वासी बनाएको छ ।’
एनपीएलको यस यात्रामा काठमान्डु गोर्खाजको मुख्य प्रायोजकमा वर्ल्ड लिंक, गोल्ड पार्टनर शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, लाइफ इन्स्योरेन्स पार्टनर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, अफिसियल एजुकेसन पार्टनर आईआईएमएस कलेज र एब्रोर्ड स्टडी पार्टनर केआईईसी, नलेज पार्टनर जाम्बोरी र अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij