काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले मार्सेललाई नाटकीय रूपमा हराउँदै लगातार चौथो पटक फ्रेन्च सुपर कपको उपाधि हात पारेको छ।
बिहिबार कुवेतमा सम्पन्न रोमान्चक फाइनल भिडन्तमा मार्सेललाई पेनाल्टी सुटआउटमा ४–१ ले स्तब्ध पार्दै पीएसजीले उपाधी हात पारेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पीएसजीले १३औं मिनेटमै अग्रता लिएको थियो। ओस्मान डेम्बेलेले गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाएका थिए। तर, खेलको उत्तरार्धमा मार्सेलले उत्कृष्ट पुनरागमन गर्यो।
७६औं मिनेटमा मेसन ग्रिनउडले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ८७ औं मिनेटमा पीएसजीका विलियन पाचोबाट आत्मघाती गोल भएपछि मार्सेल २–१ को अग्रता बनाउँदै उपाधि नजिक पुगेको थियो।
हारको सँघारमा पुगेको पीएसजीका लागि इन्जुरी समयमा गोन्सालो रामोसले अन्तिम क्षणमा बराबरी गोल फर्काएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो।पेनाल्टी सुटआउटमा पीएसजीका गोलकिपर लुकास शेभालिए नायक बने। उनले मार्सेलका दुईवटा प्रहारलाई उत्कृष्ट ढङ्गले रोकेपछि पीएसजी ४–१ ले विजयी भयो।
यो जितसँगै पीएसजीले पछिल्ला १३ संस्करणमध्ये १२ पटक फ्रेन्च सुपर कप जित्ने अद्भुत कीर्तिमान समेत बनाएको छ। लगातार चौथो पटकको यो सफलताले फ्रान्सेली फुटबलमा पीएसजीको एकछत्र राजलाई पुनः पुष्टि गरेको छ।